Full Text Sharing
Categories:
प्रेम सदावहार विषय हो। त्यसैले पनि प्रेमको बारेमा कुरा गर्न हामी अलि बढी नैै लालायित हुन्छौँ। हरेक जोडीको प्रेमभावका पछाडि यौन लुकेकै हुन्छ। यौन बारेको सार्वजनिक छलफल भने हाम्रो समाजमा अपाच्य छ।
प्रेमका बारेमा त कविता, गीत र अन्य साहित्यिक रचनामार्फत धेरैअघि नै हाम्रोमा बहस सुरु भएका हुन्। अहिले पनि सामाजिक सञ्जालहरुमा प्रेमबारे रोचक बहसहरु भई नै रहेका छन्। यौनको बारेमा खुलेर सिधै बहसमा उत्रने हिम्मत भने थोरैले मात्र जुटाउँछन्।
हाम्रो समाजले यौनलाई सरम र लज्जासँग जोडेर हेर्ने गरेको छ। हीनभावले हेर्ने गरेको छ। मेरो विचारमा यो सर्वथा गलत हो। यौन सार्वभौम विषय हो। हामी सबै यौनकर्मका उत्पादन हौँ। यौन सृष्टिको सबैभन्दा सुन्दर विषय पनि हो।
प्रेमलाई सहभागिताको रूपमा लिएपनि हाम्रो दक्षिण एशियाली समाजमा यौनलाई भने केटी पक्षबाट दिने र केटा पक्षबाट लिनेको रुपमा लिइन्छ। यो सर्वथा गलत धारणा हो। यही धारणा धेरै स्त्री-पुरुषमा छ र जसका कारण यदाकदा प्रेमजन्य सम्वन्धहरु दुर्घटनामा पर्ने गरेका छन्। साँचो अर्थमा यौन कसैले कसैलाई दिने चिज होइन। यौन “सहभागिता” हो। अर्थात् यौन गिभ एण्ड टेक हो। पुरुषले प्राप्त गर्ने र महिलाले दिने विषय हुँदै होइन यौन सम्वन्ध।
समर्पण र सम्मानसहित यौन सम्वन्ध राखिने हो भने यसमा सहभागी दुवैले यौनको गहिराई महसुस गर्छन्। हाम्रोमा यौनकर्म पुरुषकेन्द्रित छ। त्यही भएर होला कुनै स्त्रीले पुरुषसँग यौन सम्पर्क राखेपछि स्त्रीहरु केही गुमाएझैँ अनुभव गर्छन्। ‘गल्ती गरियो कि’ भनेर हतास हुन्छन्. पुरुषचाहीँ सृष्टिमाथि नै विजय पाएझैँ गर्व गर्छ। त्यति मात्र होइन, पुरुषहरु यौन सम्वन्धका कुरा धेरै सहजसँग साथीसँग राख्न सक्छन्। महिलाहरु हच्किन्छन्।
मैले उठाउन खोजेको मूल विषय स्त्रीले पनि आफ्ना यौन अनुभव, त्यसबाट प्राप्त सकारात्मक र नकारात्मक उर्जाका बारेमा खुला बहस गर्न सक्नुपर्छ भन्ने हो। यौन सम्वन्धमा आफूलाई असजिलो मससुश भए, आफूलाई यौन इच्छा भए वा नभएको विषयमा आफ्नो 'पार्टनर'सँग निर्धक्क कुरा राख्न सक्नुपर्छ। यौन हिंसाका विषय बेलाबेलामा बाहिर आएका छन्, त्यसको जरो समाउनेतर्फ महिलाको चासो भने म कमै देख्छु। कारण प्रष्ट छ, महिला भएर यो समाजमा यौनको विषय उठाइयो भने त आफू अराजकमा गनिन्छ।
पश्चिम नेपालको सामाजिक संरचनालाई हेर्यो भने प्रष्ट हुन्छ, असमान यौन सम्बन्धका असर. यौनका बारेमा आफ्ना कुरा खुलरेर राख्न नसकेकै कारण महिलाले एचआइभीको संक्रमणमा पर्नुपरेको तीतो सत्य हाम्राेसामु छ। श्रीमान एचआइभीबाट संक्रमित भएको थाहा पाए पनि श्रीमती यौन सम्वन्धका लागि तयार रहनुपर्ने बाध्यताले सुदूर पश्चिमका कैयौं महिला एचआइभी संक्रमित भएर अकाल मै ज्यान गुमाउनु परेको छ। ‘तिमीलाई एचआइभी संक्रमण हुनसक्छ, वा तिमीले सुरक्षाको लागि कण्डम प्रयोग गर’ सम्म भन्न नसक्ने अवस्थामा सुदूर पश्चिम पहाडका धेरै महिला हुनु हाम्रो समाजको कलङ्क हो।
मूल कुरा के हो भने, हाम्रो सामाजिक संरचनाले केटी मान्छेलाई आफ्नो बारेमा निर्णय गर्ने हक दिएको छैन। विवाहको लागि बाबु वा दाजुले केटा खोज्ने र रोज्ने परम्पराले नै केटी मानिसको स्व-निर्णयको अधिकार खोसेको पहिलो उदाहरण हो। विवाहपश्चात पनि केटी मानिसले मौलिक अधिकार उपयोग गर्न पाउँदैनन्। झन् यौन जस्तो विषयमा त केटीहरुले आफ्नो मुख खोल्नै सक्दैनन्। अनि प्रकृतिको सर्वाेत्तम सुन्दर विषय पनि उनीहरुका लागि ‘डरलाग्दो भूतकथा’ झैँ भइदिन्छ।
कुनै महिलाले यौनको विषयमा मुखै खोलिहाले पनि त्यस्ता केटीहरुलाई समाजले नै अराजकको बिल्ला भिराइदिन्छ। आफू अराजक हुने भयले चाहेर पनि यौन जस्तो विषयमा केटीहरुले बुझाई र भोगाई राख्न सक्दैनन्। यौन सम्पर्ककै समयमा पनि केटाहरु आफूलाई मन पर्ने आसनहरु अपनाउन अलिकति पनि हिच्किचाउँदैनन् भने केटीमान्छेले आफ्नो इच्छालाई नियन्त्रित राख्छन् वा दवाउँछन्।
यसबाट पनि यौन सम्वन्ध भनेको केटाले लिने र केटीले दिनेजस्तो बनाईएको छ। यौन सम्वन्धमा रहने केटा वा केटीले यौनका बारेमा खुलेर छलफल नगरेसम्म वा यौन भनेको केटीले केटालाई दिने बस्तु होइन भन्ने नबुझेसम्म यौनबाट पाउने खुसीमा केटा र केटी दुवै सदैव बञ्चित रहन्छन्।
सधैँ सामाजिक मर्यादाको डुंगामा बसीराखेको भए आज पनि महिला सति जानुपर्ने नै थियो। बलिरहेको दाउराको थुप्रोमा मरेको बुुढो लोग्नेसँगै तरुनी स्वास्नीहरु डढेको इतिहासको साक्षी हाम्रो समाज हो। गलत प्रचलन र प्रथाको विरुद्धमा जहिल्यै आवाज उठाइनुपर्छ । मर्यादाको नाउँमा मान्छेका सार्वभौम भावनामाथि सधैँ दमन गरिनुहुन्न।
Add new comment